दोलखाका निर्माण व्यवसायीले बुझाए सिडिओलाई ज्ञापनपत्र: मूल्यवृद्धि नघटे काम ठप्प पार्ने चेतावनी
मूल्यवृद्धि अनुसार दररेट समायोजन नभएको भन्दै देशभरका निर्माण कार्य ठप्प पार्ने दोलखाका व्यवसायीको चेतावनी
हेर्दाहेर्दै डेस्क
१ जेठ २०८३, शुक्रवार
462
SharesNews Summary
- निर्माण सामग्रीको मूल्यवृद्धि अनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै दोलखाका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
- इन्धन र अन्य सामग्रीको अत्यधिक मूल्य बढेकाले पुरानो दररेटमा काम गर्न नसकिने व्यवसायीहरूको भनाइ छ।
- माग पूरा नभए देशभरका निर्माण कार्य ठप्प पार्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी उनीहरूले दिएका छन्।
दोलखा । नेपाल निर्माण व्यवसायी महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमअनुसार दोलखा जिल्ला निर्माण व्यवसायी संघले पनि आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। निर्माण सामग्रीमा भएको अनियन्त्रित मूल्यवृद्धिको अनुपातमा सरकारले 'प्राइस एडजस्टमेन्ट' (मूल्य समायोजन) नगरेको भन्दै व्यवसायीहरूले देशभरका निर्माण कार्य स्वतः बन्द हुने चेतावनी दिएका हुन्।
दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापा र सचिव रोशन श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, रुस-युक्रेन युद्धपछि इन्धन र निर्माण सामग्रीको भाउ अकासिएको उल्लेख छ। इन्धन र बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्यमा शतप्रतिशतसम्म वृद्धि हुँदा पुरानै दररेटमा काम अघि बढाउन असम्भव भएको व्यवसायीहरूको गुनासो छ। व्यवसायीहरूले अहिलेको स्थितिमा काम गर्दा झन् ठूलो ऋण लाग्ने र आर्थिक रूपमा धराशायी हुने अवस्था आएको बताएका छन्।
ज्ञापनपत्रमा सरकारलाई दिइएको अल्टिमेटमलाई बेवास्ता गरिएकोमा आपत्ति जनाइएको छ। "छिमेकी मुलुकहरूमा मूल्यवृद्धिको अनुपातमा समायोजन भइरहँदा नेपाली निर्माण व्यवसायीलाई भने त्यसबाट वञ्चित गरिएको छ," ज्ञापनपत्रमा भनिएको छ। व्यवसायीहरूले म्याद थप र बजेट व्यवस्थापनका साथै बैंक ग्यारेन्टी जफत गर्ने र कालोसूचीमा राख्ने जस्ता दबाबमूलक कार्य रोक्न समेत माग गरेका छन्। माग पूरा नभए निर्माण कार्य ठप्प हुँदा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी उनीहरूले दिएका छन्।
462 Shares
हेर्दाहेर्दै डेस्क