भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन, घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढाइयो।
244
SharesNews Summary
मकवानपुरको भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए।
दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
घाइतेको उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
दुई शब्दमा: छानबिन समिति
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बिहीबार बिहान भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारीसाधन भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–९, सुन्दरपुरका १३ जना र सवारी चालकको मृत्यु भएको कार्यालयले जनाएको छ।
सरकारका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशनसमेत दिइएको छ।
दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन सरकारले सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ।
सरकारले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
244 Shares