मार्बुमा भलिबलको रौनक, उपाधिका लागि १३ टिम भिड्दै
विजयादशमीको अवसरमा सयपत्री जनजागरण युवा क्लबद्वारा प्रतियोगिता आयोजना
9
SharesNews Summary
दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितामा दोलखाका नौवटै स्थानीय तहबाट १३ टिम सहभागी भएका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सयपत्री जनजागरण युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता शुक्रबारसम्म चल्नेछ।
दोलखा । विजयादशमीको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका-७ मार्बुमा खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। सयपत्री जनजागरण युवा क्लबको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका नौवटै स्थानीय तहका १३ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेका हुन्।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ, द्वितीय हुनेले ७५ हजार रुपैयाँ र तृतीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।
स्थानीय खेलप्रतिभाको पहिचान, खेलकुदको विकास र ग्रामीण क्षेत्रमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनिष लामाले जानकारी दिए।
बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष मिनकुमार शिवाकोटीले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विजयादशमीको अवसरमा आयोजित प्रतियोगिताले युवाबीच आपसी सद्भाव, एकता र अनुशासनको भावना विकास गर्ने अपेक्षा गरिएको छ।
9 Shares