एमालेलाई धक्का: बिगुकी कार्यपालिका सदस्य तारा थामी र वडा सचिव नेपाली नेकपामा प्रवेश
एमालेभित्र 'विद्रोह': निर्वाचित जनप्रतिनिधिसहित वडा सचिवले छोडे साथ
हेर्दाहेर्दै डेस्क
१ फागुन २०८२, शुक्रवार
290
SharesNews Summary
- दोलखाको बिगु गाउँपालिकामा एमालेका निर्वाचित गाउँ कार्यपालिका सदस्य तारा थामी र वडा सचिव रबिन्द्र नेपालीले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
- एमालेको कार्यशैली र नीतिप्रति असन्तुष्टि जनाउँदै कित्ता परिवर्तन गरेका उनीहरूको बहिर्गमनले बिगुमा एमालेलाई ठूलो राजनीतिक झड्का लागेको छ।
दोलखा । दोलखाको बिगु गाउँपालिकामा नेकपा (एमाले) लाई ठूलो राजनीतिक झड्का लागेको छ। बिगु गाउँपालिका–५, चिलन्खाबाट एमालेको तर्फबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य तारा थामी (नेपाली) र वडा पार्टी सचिव रबिन्द्र नेपालीले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार विशाल खड्काले उनीहरूलाई पार्टीमा स्वागत गरे। खड्काले नवप्रवेशी नेताहरूलाई खादा लगाएर पार्टीको सदस्यता प्रदान गर्दै उचित जिम्मेवारी दिइने बताए।
एमालेको वर्तमान कार्यशैली र नीतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनीहरूले 'विद्रोह' सहित नयाँ पार्टीको यात्रा तय गरेको घोषणा गरेका छन्। निर्वाचित जनप्रतिनिधि तारा थामी र वडाको साङ्गठनिक कमान्ड सम्हालिरहेका सचिव रबिन्द्र नेपालीले नै कित्ता परिवर्तन गरेपछि बिगु–५ को स्थानीय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै उनीहरूले अब नेपाली कम्युनिस्ट पार्टीको नीति र निर्देशनअनुसार जनसेवा र गाउँपालिकाको विकासमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। प्रभावशाली नेतृत्वको बहिर्गमनले बिगुमा एमालेको संगठनमा ठूलो क्षति पुग्ने र नेपाली कम्युनिस्ट पार्टीको प्रभाव बढ्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
290 Shares
हेर्दाहेर्दै डेस्क