महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना
क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने लक्ष्यसहित पुरस्कार स्थापना
हेर्दाहेर्दै डेस्क
१६ पुष २०८२, बुधवार
173
SharesNews Summary
- नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सक्रिय पत्रकारलाई प्रोत्साहन गर्न स्वर्गीय सम्राट आचार्यको स्मृतिमा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।
- रु ३ लाखको अक्षय कोषबाट क्यान्सर वा अनुसन्धानमूलक लेख लेख्ने उत्कृष्ट पत्रकारलाई प्रत्येक साधारण सभामा यो पुरस्कार प्रदान गरिनेछ।
ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।
महासंघ ललितपुर शाखा र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएसँगै पुरस्कार औपचारिक रूपमा स्थापना गरिएको हो। सहमति–पत्रमा महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र मुक्तिनाथ आचार्यले हस्ताक्षर गरेका छन्।
महासंघ ललितपुर शाखाका अनुसार उक्त पुरस्कार प्रत्येक साधारण सभाको अवसरमा वितरण गरिनेछ। महासंघसँग आबद्ध क्रियाशील पत्रकारहरूको वार्षिक कार्य मूल्याङ्कनका आधारमा उत्कृष्ट पत्रकारलाई पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
सहमतिअनुसार मुक्तिनाथ आचार्यले पुरस्कार स्थापनाका लागि २ लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन्। महासंघ ललितपुर शाखाले थप ५० हजार रुपैयाँ योगदान गरेसँगै ३ लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ।
अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट मात्र पुरस्कार वितरण गरिने महासंघ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए। उनका अनुसार उक्त पुरस्कार स्वर्गीय सम्राट आचार्यको स्मृतिमा स्थापना गरिएको हो। आचार्य ‘युवा आलोक मासिक’का सम्पादकसमेत रहेका थिए।
महासंघका अनुसार पुरस्कार विशेष गरी क्यान्सर रोगसम्बन्धी विषयमा कलम चलाउने तथा अनुसन्धानमूलक लेख लेख्ने पत्रकारलाई प्रदान गरिनेछ।
कार्यक्रममा अग्रज पत्रकार प्रभुनारायण बस्नेतले पुरस्कार स्थापना सकारात्मक पहल भएको बताए। उनले यस्ता पुरस्कारले पत्रकारितामा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरे।
स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यले छोराले पत्रकारितामार्फत सामाजिक विषय उठान गर्ने प्रयास गरेको स्मरण गर्दै उनको जन्मोत्सवको अवसर पारेर पुरस्कार स्थापना गरिएको जानकारी दिए।
सम्राट आचार्यको गत पुस १६ गते २७ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको उनका दाजु समर्पण आचार्यले जानकारी दिए।
महासंघ ललितपुर शाखाले यसअघि ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ समेत स्थापना गरिसकेको छ।
173 Shares
हेर्दाहेर्दै डेस्क