जिरी नगरसभामा मेयरविरुद्ध जनप्रतिनिधिको विद्रोह, चर्को विवादपछि बजेट संशोधन
सामाजिक सञ्जालमा विरोधका भिडियो भाइरल
हेर्दाहेर्दै डेस्क
२८ पुष २०८२, सोमवार
219
SharesNews Summary
- दोलखाको जिरी नगरसभामा मेयर मित्र जिरेलले कार्यपालिका र वडा अध्यक्षहरूसँग समन्वय नगरी एकलौटी बजेट ल्याउन खोज्दा जनप्रतिनिधिहरूले चर्को विरोध र नाराबाजी गरे।
- जनप्रतिनिधिहरूको कडा दबाबपछि मेयर बजेटमा आवश्यक संशोधन गर्ने सहमति जनाउँदै पछि हट्न बाध्य भए।
दोलखा । दोलखाको जिरी नगरपालिकाको १७ औँ नगरसभामा नगरप्रमुख मित्र जिरेलको कार्यशैलीलाई लिएर जनप्रतिनिधिहरूले चर्को विरोध र नाराबाजी गरेका छन्। मेयरले कार्यपालिका सदस्य र वडा अध्यक्षहरूसँग कुनै समन्वय नगरी एकलौटी र मनोमानी ढङ्गले बजेट ल्याउन खोजेको भन्दै बहुमत जनप्रतिनिधिहरूले सभास्थलमै विद्रोह गरेका हुन्।
विधि र प्रक्रिया मिचिएको भन्दै नाराबाजी
वडा अध्यक्ष शान्त नेपाली र कार्यपालिका सदस्य साङ्गे शेर्पा लगायतका जनप्रतिनिधिहरूले विधि र प्रक्रिया मिचेर वडाको अधिकार कुण्ठित गर्न खोजिएको आरोप लगाउँदै सभामा नाराबाजी गरेपछि हिजोको नगरसभा केही समय तनावग्रस्त बनेको थियो। खासगरी बजेटको अर्धवार्षिक समीक्षा र महत्त्वपूर्ण योजनाका विषयमा कार्यपालिकामा छलफल नै नगरी सिधै नगरसभाबाट पारित गराउन खोजिएपछि विवादले उग्र रूप लिएको हो।
दबाबपछि पछि हटे मेयर
जनप्रतिनिधिहरूको कडा अडान र निरन्तरको दबाबका कारण नगरसभा स्थगित हुने अवस्थामा पुगेपछि अन्ततः नगरप्रमुख जिरेल पछि हट्न बाध्य भएका थिए। वडा अध्यक्षहरूले उठाएका मागहरू सम्बोधन गर्ने र बजेटमा आवश्यक संशोधन (रकमान्तर) गर्ने सहमति भएपछि मात्रै सभाबाट नीति, कार्यक्रम तथा संशोधित बजेट पारित गरिएको छ।
सामाजिक सञ्जालमा भिडियो भाइरल
यता नगरप्रमुख जिरेलले भने सभामा भएको विवादलाई सामान्य रूपमा टिप्पणी गर्दै नगरसभा भव्य रूपमा सफल भएको दाबी गरेका छन्। मेयर जिरेलले सभा सफल भएको दाबी गरिरहँदा नगरसभामा भएका विरोधका भिडियोहरू भने सामाजिक सञ्जालमा यत्रतत्र भेटिन्छन्। ती भिडियोहरूमा वडा अध्यक्ष शान्त नेपाली लगायतका जनप्रतिनिधिले मेयरको कार्यशैलीविरुद्ध खुलेरै विरोध गरेको स्पष्ट देख्न र सुन्न सकिन्छ।

हेर्दाहेर्दै डेस्क