दोलखामा बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाइने
दोलखामा बर्डफ्लु रोकथामका लागि उच्च सतर्कता, चेकपोस्ट स्थापना र ओसारपसारमा कडाइ गर्ने निर्णय
हेर्दाहेर्दै डेस्क
१८ चैत २०८२, बुधवार
306
SharesNews Summary
- दोलखामा बर्डफ्लु संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने र रोग नियन्त्रणका लागि तयारी तीव्र पार्ने निर्णय गरिएको छ।
- संभावित संक्रमण पहिचानका लागि नमुना परीक्षण गरिनेछ, र रोग पुष्टि भएमा क्वारेन्टाइन, संक्रमित पन्छी नष्ट गर्ने लगायतका नियन्त्रणका उपाय अपनाइनेछ।
- पशुपन्छीको अन्तरजिल्ला ओसारपसारमा कडाइ गर्दै चेकपोस्ट स्थापना गरिनेछ, भेटेरिनरी प्रमाणपत्र अनिवार्य गरिएको छ, र शंकास्पद संक्रमणबारे तत्काल जानकारी दिन आग्रह गरिएको छ।
दोलखा । दोलखामा बर्डफ्लु संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ।
मंगलबार चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरूको बैठकले रोग नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो।
पशु सेवा कार्यालय दोलखाका प्रमुख डा. टेक राज पौडेलका अनुसार जिल्लाभित्र पशुपन्छीमा देखिन सक्ने असामान्य लक्षणको पहिचान, नमुना संकलन र परीक्षण प्रक्रियालाई प्रभावकारी बनाइनेछ।
संक्रमण देखिएमा तत्काल क्वारेन्टाइन लागू गरिने तथा संक्रमित पन्छी नष्ट गर्ने (डिपोपुलेसन) प्रक्रिया अपनाइने निर्णय गरिएको छ।
त्यस्तै, फार्म, ह्याचरी वा खोरमा बर्डफ्लुको आशंका देखिएमा तत्काल पशु सेवा कार्यालयलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। प्रारम्भिक परीक्षणका आधारमा पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसार र बिक्री–वितरणमा रोक लगाइनेछ। संक्रमण पुष्टि नभएसम्म सो रोक कायम रहनेछ।
अन्तरजिल्ला ओसारपसार गर्ने व्यवसायीहरूले अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने निर्णय गरिएको छ। नियमविपरीत ओसारपसार गरिएको पाइएमा सम्बन्धित सामग्री नष्ट गरिनेछ।
निगरानी थप कडाइ गर्न राजमार्गका प्रवेश विन्दुहरूमा चेकपोस्ट स्थापना गरिने भएको छ। यसका लागि तामाकोशी गाउँपालिका र भीमेश्वर नगरपालिकाले समन्वय गर्नेछन्।
साथै, आवश्यक औजार, सामग्री तथा आर्थिक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत गरिएको छ।
पशु सेवा कार्यालयले सबै सरोकारवाला निकाय, स्थानीय तह र व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउन तथा रोग देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
306 Shares
हेर्दाहेर्दै डेस्क