१७ असार २०८३, बुधवार

भर्खरै

स्वास्थ्य शिविर / विद्यालय स्वास्थ्य / दोलखा

दोलखाको आलम्पुमा १५५ विद्यार्थीको स्वास्थ्य परीक्षण, ५ जनामा मुटु रोगको आशंका

दुर्गम क्षेत्रका बालबालिकामा स्वास्थ्य पहुँच विस्तार गर्न विद्यालयमै स्वास्थ्य शिविर

हेर्दाहेर्दै डेस्क १८ चैत २०८२, बुधवार
दोलखाको आलम्पुमा १५५ विद्यार्थीको स्वास्थ्य परीक्षण, ५ जनामा मुटु रोगको आशंका

News Summary


  • दोलखाको थम्पु माध्यमिक विद्यालयमा १५५ जना विद्यार्थीको एकीकृत स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरियो, जसमा ५ जनालाई बाथ तथा मुटु रोगको आशंकामा निःशुल्क उपचारका लागि रेफर गरियो।
  • दुर्गम भेगका बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने तथा जटिल रोगहरू समयमै पत्ता लगाउने उद्देश्यले आयोजित यस शिविरमा आँखा र दाँतसम्बन्धी समस्यासमेत पहिचान गरियो।

दोलखा । बिगु गाउँपालिका–६ आलम्पुस्थित थम्पु माध्यमिक विद्यालयमा अध्ययनरत १५५ जना विद्यार्थीको एकीकृत स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा, बिगु गाउँपालिका र विद्यालयको समन्वयमा मंगलबार उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य परीक्षणका क्रममा ५ जना विद्यार्थीमा बाथ तथा मुटु रोगको आशंका देखिएपछि थप उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा रेफर गरिएको छ। अस्पतालले ती विद्यार्थीको निःशुल्क उपचार गर्ने जनाएको छ।

शिविरमा सहभागी सबै १५५ जना विद्यार्थीको कान, आँखा र दाँत परीक्षण गरिएको थियो भने १४७ जनाको रक्त समूह पहिचान गरिएको छ। परीक्षणका क्रममा ११ जना विद्यार्थीमा दाँतसम्बन्धी र ११ जनामा आँखासम्बन्धी समस्या देखिएको छ। आँखामा समस्या भएका विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने आयोजकले जानकारी दिएको छ।

स्वास्थ्य शिविरमा पशुपति चौलागाईं स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. अच्युत पौडेल, धुलिखेल अस्पताल/दोलखा अस्पतालका मेडिकल डाइरेक्टर डा. बिराट आचार्य तथा डा. दिवाशा अधिकारीसहितको विशेषज्ञ टोलीले परीक्षण गरेका थिए। साथै, नेत्र सहायक विप्लव खड्का, ल्याब प्राविधिक शंकर पोखरेल र डेन्टल हाइजिनिस्ट मिङमार लामाले प्राविधिक सहयोग गरेका थिए।

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरले दुर्गम भेगका बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले विद्यालयस्तरमै यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। त्यस्तै, जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले विद्यालयमै गरिने स्क्रिनिङबाट बालबालिकामा लुकेका जटिल रोग समयमै पहिचान हुने र भविष्यमा हुने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक तुलसी थामीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको व्यवस्थापन जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, अधिकृत सोना श्रेष्ठ र उरुशा शाक्यले समन्वय गरेका थिए।

481 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट