१७ असार २०८३, बुधवार

भर्खरै

स्थानीय शासन / सार्वजनिक सुनुवाइ

नमुना स्थानीय तह बन्ने लक्ष्यसहित वैतेश्वरको सार्वजनिक सुनुवाइ सम्पन्न

सार्वजनिक सुनुवाइमार्फत नागरिकका सुझावलाई प्राथमिकता

हेर्दाहेर्दै डेस्क १६ चैत २०८२, सोमवार
नमुना स्थानीय तह बन्ने लक्ष्यसहित वैतेश्वरको सार्वजनिक सुनुवाइ सम्पन्न

News Summary


  • वैतेश्वर गाउँपालिकाले नमुना स्थानीय तह बन्ने लक्ष्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्‍यो।
  • कार्यक्रममा स्थानीय बासिन्दाले विकास र सेवा प्रवाहसम्बन्धी सुझाव तथा जिज्ञासा राखे, जसलाई गाउँपालिकाले सम्बोधन गर्ने प्रतिबद्धता जनायो।
  • नागरिक सहभागिता र पारदर्शितालाई सुशासनको आधार मान्दै यस्ता सुनुवाइलाई निरन्तरता दिने घोषणा गरियो।

दोलखा । नमुना स्थानीय तह बन्ने लक्ष्यसहित वैतेश्वर गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाको आयोजना तथा रेडियो वैतेश्वरको सहजीकरणमा आइतबार गाउँपालिकाकै सभा हलमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न भएका प्रमुख योजनाहरू तथा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न बाँकी रहेका योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले गाउँपालिकाले सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन विभिन्न सुधारका पहलहरू अघि बढाएको जानकारी दिए।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाहरूले विकास निर्माण, सडक, खानेपानी, स्वास्थ्य र शिक्षासम्बन्धी विषयमा आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूमा गाउँपालिका अध्यक्ष तथा सम्बन्धित शाखाका प्रमुखहरूले स्पष्टिकरण दिँदै आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले सार्वजनिक सुनुवाइले नागरिक र जनप्रतिनिधिबीचको दूरी घटाउने बताउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम निरन्तर गरिने उल्लेख गरिन्। उनले महिलाहरू, दलित तथा पछाडि पारिएका समुदायको सहभागिता अझ बढाउन गाउँपालिका प्रतिबद्ध रहेको समेत बताइन्।

अध्यक्ष छवि लामाले नागरिक सहभागिता र पारदर्शिता नै सुशासनको आधार भएको उल्लेख गर्दै प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए। उनले वैतेश्वर गाउँपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको पनि जानकारी दिए।

कार्यक्रमको सहजीकरण पत्रकार चिरञ्जीवी मास्केले गरेका थिए।

256 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट