१७ असार २०८३, बुधवार

भर्खरै

दोलखा / निर्माण क्षेत्र संकट

दोलखामा नदीजन्य पदार्थमा कालोबजारी, ७ दिनभित्र नियन्त्रण नगरे आन्दोलन चेतावनी

निर्माण व्यवसायी संघ दोलखाको ध्यानाकर्षण, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित

हेर्दाहेर्दै डेस्क १७ चैत २०८२, मङ्गलवार
दोलखामा नदीजन्य पदार्थमा कालोबजारी, ७ दिनभित्र नियन्त्रण नगरे आन्दोलन चेतावनी

News Summary


  • दोलखामा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) मा कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै निर्माण व्यवसायी संघले ध्यानाकर्षण गराएको छ।
  • संघले ठेक्का लिएका व्यवसायीहरूले गैरकानुनी शुल्क असुलेको र जिल्ला अनुगमन समितिले प्रभावकारी अनुगमन नगरेको आरोप लगाएको छ।
  • समस्या समाधान गरी दोषीमाथि कारबाही गर्न ७ दिनको अल्टिमेटम दिँदै संघले माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

चारिकोट, दोलखा । दोलखामा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) मा कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि भइरहेको भन्दै निर्माण व्यवसायी संघ दोलखाले गम्भीर ध्यानाकर्षण गराएको छ।

मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण इन्धन संकट र मूल्यवृद्धि भएको उल्लेख गर्दै संघले त्यसको असर निर्माण सामग्रीमा परेको जनाएको छ। तर त्यसलाई बहाना बनाउँदै जिल्लामा नदीजन्य पदार्थको अस्वाभाविक मूल्य वृद्धि, कृत्रिम अभाव र गैरकानुनी कर असुली भइरहेको आरोप संघले लगाएको छ।

संघका अनुसार नदीजन्य पदार्थ उत्खनन् तथा कर संकलनको ठेक्का लिएका व्यवसायीहरूले प्रचलित कानुनविपरीत तोकिएको दरभन्दा बढी शुल्क असुलिरहेका छन्। सम्बन्धित निकायबाट स्वीकृत दररेट नलिई, स्थानीय तहबाट प्रमाणीकरण नगरी तथा संक्षिप्त कर विवरण प्रयोग गरी उपभोक्ता र निर्माण व्यवसायीलाई ठग्ने काम भइरहेको जनाइएको छ।

यसले गर्दा निर्माण व्यवसायी तथा सर्वसाधारण उपभोक्ता मारमा परेका छन्। साथै, विवरण नदिने, विवरण माग्दा सामग्री उपलब्ध नगराउने जस्ता समस्या पनि देखिएको संघले जनाएको छ।

“ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७” अनुसार जिल्ला अनुगमन समितिले बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्ने भए पनि हालसम्म प्रभावकारी अनुगमन हुन नसकेको गुनासो गरिएको छ।

यसअघि विभिन्न निकायमा पटक–पटक उजुरी दिँदा पनि समस्या समाधान नभएको भन्दै संघले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएको छ।

संघले क्रसर उद्योग तथा ठेक्का लिएका व्यवसायीहरूको स्थलगत अनुगमन गरी वास्तविक मौज्दात सार्वजनिक गर्न, कृत्रिम अभाव अन्त्य गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

७ दिनभित्र समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ।

349 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट